विप्लव समूह बारे सरकारको नीति के हो ? वार्ता कि नियन्त्रण ?

काठमाडौँ , जेठ १३ । गृह मन्त्री रामवहादुर थापाले विप्लव समूहु भनिने नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्ताको माध्यमबाट मूलधारमा ल्याउने बताएका छन् ।

राजधानी काठमाण्डूमा आइतवार साँझ चार जनाको ज्यान जाने गरी भएका विस्फोटका लागि चन्द नेतृत्वको दल जिम्मेवार रहेको गृह मन्त्रालयका अधिकारीहरूको आशङ्का छ ।

गृह मन्त्रालयका प्रवक्ताले आइतवारका घटनामा सरकारले विध्वंसकारी भनेको समूह जिम्मेवार रहेको बताए । चन्द नेतृत्वको दलले ती घटनाको औपचारिक रूपमा जिम्मेवारी लिइसकेको छैन ।

तर पछिल्लो घटनामा त्यही समूहको संलग्नता रहेको बताउँदै गृहमन्त्री थापाले सोमवार संसदमा बोल्दै त्यो दललाई सरकारले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । तर कसरी त्यो कार्य अगाडि बढ्छ भन्ने बारेमा भने उनले थप खुलाएनन् ।

मन्त्री थापाको भनाइमा नेत्र विक्रम चन्द नेतृत्वको दलसँग वार्ताको प्रयास पनि जारी छ र सँगसँगै सरकार त्यो दलका गतिविधि समेत नियन्त्रण गर्न प्रतिबद्ध छ ।

उनले भने, नेकपा विप्लव भन्ने समूहका गतिविधिलाई राज्यले नियन्त्रण गर्ने र वार्ताद्वारा त्यो समूहलाई मूलधारमा ल्याउन राज्य प्रतिबद्ध छ । यो प्रक्रियामा सरकार अगाडि बढिरहेको छ ।
संसदलाई जानकारी गराउँदै मन्त्री थापाले आइतवारका विष्फोटमा कुनै सर्वसाधारण नमारिएको र विप्लव समूहका कार्यकर्ता नै मारिएकोू दावी गरेका छन् ।

अधिकारीहरूका अनुसार घटनास्थलमा दुई जना र अस्पताल लैजाँदै गर्दा दुई जनाको ज्यान गएको थियो । घटनामा संलग्न भएको आशंकामा १२ जना पक्राउ परेका छन् ।

पछिल्लो घटनाबारे विप्लव समूहले औपचारिक रूपमा प्रतिक्रिया जनाएको छैन । त्यो समूहका कैयौँ नेता सरकारको नियन्त्रणमा छन् भने चन्द लगायतका नेता सम्पर्कबाहिर अर्थात भूमिगत रहँदै आएका छन् ।


पछिल्लो समय उक्त समूह संविधान र राज्य व्यवस्थाविरुद्ध आगजनी, विस्फोट लगायतका हिंसात्मक गतिविधिमा सक्रिय बनेको गृहमन्त्री थापाले बताए ।

हिंसात्मक र अन्य गतिविधिमा संलग्न भएका समूहहरूलाई संविधानको दायराभित्र ल्याउने जिम्मा पाएको सरकारी वार्ता टोलीले यसअघि विभिन्न समूहसँग वार्ता गरेको थियो । तर वार्ताको वातावरण बनेको भनिएपनि चन्द नेतृत्वको दलसँग भने औपचारिक वार्ता हुन सकेको थिएन ।
संसदको बैठकमा भने प्रतिपक्षी दलका सांसदहरूले सरकारको दम्भका कारण वार्ता प्रभावकारी नबनेको टिप्पणी गरेका छन् ।


सांसद र गृहमन्त्रीबीच चर्को आलोचना


आइतबार काठमाडौंलगायतका ठाउँमा भएका बम विस्फोटलाई लिएर सोमबार संसदमा प्रतिपक्ष दलका सांसद र गृहमन्त्री थापाबीच जुहारी चलेको छ ।


बैठकमा गृहमन्त्री थापाले विस्फोटका घटनाबारे जानकारी गराएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई पूरक प्रश्न सोध्न समय दिएका थिए ।

गृहमन्त्रीलाई सांसद देवन्द्रराज कँडेल र अमरेशकुमार सिंहले एउटा कम्युनिस्ट पार्टी सरकार चलाउने र अर्कोले बाहिर बसेर नागरिकको आवाज दबाउने साँठगाँठ त गरिरहेको छैन ? भन्दै प्रश्न गरे ।

जवाफमा गृहमन्त्री थापाले साँठगाँठबारेको प्रश्न नाजायज भएको भन्दै प्रश्नलाई उल्ट्याएर हेर्दा कतै प्रश्नकर्ताहरुकै चन्द समूहसँग सम्बन्ध त छैन ? भन्नसकिने बताए ।

गृहमन्त्रीको प्रतिप्रश्नमा पूर्वगृहराज्यमन्त्रीसमेत रहेका कांग्रेस सांसद कँडेलले आपत्ति जनाउँदै विस्फोटका घटनामा कुन सांसदको कहाँ संलग्नता छ ? भन्दै संसदमा जानकारी दिन नभए सो भनाइ रेकर्डबाट हटाउन माग गरे ।


प्रतिपक्ष सांसदको मागपछि सभामुख महराले यसबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्