‘विप्लव’ समूहको बन्द: उपत्यकामा आंशिक प्रभाव, अन्य जिल्लामा के भयो ? देशभरको सुरक्षा व्यवस्था कडा

काठमाडौं, जेठ १३ । नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । उपत्यका बाहिर भने केही बढी असर परेको प्रहरीले जनाएको छ ।

नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण आज उपत्यकामा भने आंशिक असर पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार काठमाडौँमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा सधै झैं सार्वजनिक गाडी भने चलेका छैनन् । निजी गाडी भने सञ्चालनमा छ ।

विभिन्न जिल्लामा बसमा आगजनी गराइएको पाइएको र यस क्रममा विभिन्न क्षेत्रबाट पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । यसअघि आइतबार साँझ प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो ।


प्रवक्ता पोखरेलले विभिन्न जिल्लामा नक्कली बम राखेर त्रास फैलाउने काम भएको बताए । रामेछाप, हेटौँडा, सुर्खेत, नवलपुरलगायत क्षेत्रमा केही गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । बन्दमा उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजमार्गमा सवारी साधनलाई ‘स्कटिङ’को व्यवस्था गरिएको प्रहरीले जनाएको छ । बन्दका कारण उपत्यका भित्रिने र बाहिरिने गाडीसमेत सञ्चालन नभएको काठमाडौँस्थित महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । उपत्यकाका तीनै जिल्लामा बन्दको आंशिक असर परेको उनको भनाइ थियो ।

आइतबार विप्लव समूहका सदस्यले बम बनाउने क्रममा काठमाडौँको घट्टेकुलो, सुकेधारा र थानकोटमा विष्फोट हुँदा सो समूहका चार जनाको मृत्यु भएको थियो ।

घटनामा सात घाइते भएका थिए । घाइतेको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेकामध्ये अधिकांश विप्लव समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्