आइतबार भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो, ७ जना घाइते

काठमाडौ, १३ जेठ । आइतबार काठमाडौमा भएका विस्फोटमा ज्यान गुमाउनेको संख्या थपिएर ४ पुगेको छ भने अन्य ७ जना घाइते भएका छन् ।

आइतवार सुकेधारामा भएको विस्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । यसअघि सुकेधारामा भएको विस्फोटमा २ जना र अनामनगर नजिकै घट्टेकुलोको एउटा घरको कोठामा विस्फोट हुँदा १ जनाको ज्यान गएको थियो ।

प्रहरीका अनुसार मृतक चारै जना नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ता भएको जनाएको छ । जुन कुरा बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् ।

यसैबीच घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले काठमाण्डौ उपत्यका लगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

काठमाडौमा भएको विस्फोटपछि गृह मन्त्रालयमा बसेको आकस्मीक बैठकमा गृह मन्त्रीले घटनालाई अनुुसन्धान तथा सुरक्षा एकदम कडा बनाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्