भुकम्पपछि बन्द भएको तातोपानी नाका अब चाडै खुल्छ : गृहमन्त्री थापा

काठमाडौ, १२ जेठ । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुल आज निरीक्षण गरेका छन् ।

गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिए ।

भूकम्पपछि चार वर्ष बन्द भएको तातोपानी नाका खुलाउन पूर्वाधारको काम तीव्रगतिमा भइरहेको छ । अत्याधुनिक सुक्खा बन्दरगाहको काम सम्पन्न भइसकेको छ भने सीमापुलको काम पनि छिटफुटबाहेक प्रायः सम्पन्न भइसकेको छ ।

अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्म चीन सरकार र त्यहाँदेखियता बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण भइरहेको जनाएको छ ।

बाह्रबिसेको खुर्सानीबारीस्थित साधिखोलामा गत भदौको बाढीले बगाएको पक्कीपुलको ठाउँमा बेलिब्रिज राख्ने काम सम्पन्न भइसकेको इञ्जिनीयर प्रदीप निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्