उपराष्ट्रपति नन्दबहादुर पुन आज अष्ट्रिया जाँदै

काठमाडौ, १२ जेठ । आइतबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको साताव्यापी भ्रमणका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लाग्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँ कतार एयरवेजको विमानमार्फत आइतबार बिहान ९:२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान जानुहुनेछ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुनुहुनेछ ।

अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नुहुनेछ । भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्नुहुने प्रेस संयोजक मगरले बताउनुभयो ।

उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा उहाँले अष्ट्रियामा रहनुभएका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । उहाँ भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्कनुहुने उहाँका प्रेस संयोजक मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्