भारतको गुजरातस्थित एक ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु
काठमाडौ, ११ जेठ । भारतको गुजरातस्थित एक ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु भएको छ भने २० बिद्यार्थी गम्भीर घाइते भएका छन् । विद्यार्थीहरुले खचाखच भरिएको ट्युसन सेन्टरमा शुक्रबार आगलागी भएकोले २० विद्यार्थीको ज्यान गएको र २० विद्यार्थी गम्भीर घाइते भएका हुन् ।
गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए । आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए । त्यसबाट कतिपयको ज्यान जानुको साथै केही घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
‘आगोमा जलेर तथा हामफालर धेरै विद्यार्थीले ज्यान गुमाएका छन्’, सुरतका स्थानीय सरकारी अधिकारी दीपक सप्तलीले एएफपीसँग भनेका छन् ।
घटनामा २० विद्यार्थी गम्भीर घाइते छन् । उनीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तर, प्रष्ट कारण खुलिसकेको छैन ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगमा जुट्न स्थानीय अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्