निर्मला हत्याकान्डको १० महिनाः दोषी पत्ता लागेनन् , आन्दोलन सेलाउँदै ,जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना
काठमाडौं , जेठ १० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १० महिना पुगेको छ ।
घटना भएको १० महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना पुग्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । योसँगै निर्मला हत्याकाण्ड विस्तारै सेलाउँदै गएको छ ।
सिआइबीसहित आधा दर्जन बढी प्रहरी टोलीले अनुसन्धान थाले पनि १० महिनासम्म घटनामा संलग्न व्यक्ति पहिचान हुन सकेको छैन ।
लामो समयसम्म दोषि पत्ता नलागेपछि अहिले आन्दोलन र दवावका कार्यक्रम पनि सेलाउँदै गएका छन् ।
यसैबिच बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै शुक्रबार कन्चनपुरका स्थानीयले प्रदर्शन गरेका छन् ।
घटनाको १० महिना पुग्दासमेत दोषी पत्ता नलागेको भन्दै उनीहरुले दबाबस्वरुप महेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका हुन् ।
नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले सरकारले दोषीलाई पत्ता लागाउन आलटाल गरेको आरोप लगाइन् ।
निर्मलाको हत्यारा संरक्षण गर्न सरकार आफैं लागेको आरोप लगाउँदै दोषी पत्ता नलागेसम्म दबाबमूलक कार्यक्रम जारी रहने उनको भनाइ थियो ।
सरकारले चाहेमा दोषी सार्वजनिक गर्न समय नलाग्ने अधिकारकर्मीहरुले दाबी गर्दै आएका छन् ।
धर्नामा निर्मलाका आफन्त पनि सहभागी थिए ।
गएको साउन १० गते हराएकी कन्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेलापरेको थियो ।
प्रतिक्रिया दिनुहोस्