उदयपुरस्थित तेजपात भण्डारणमा आगलागी
काठमाडौ, १० जेठ । उदयपुरस्थित तेजपात भण्डारणमा आगलागी भएको छ । उदयपुरको रौतामाई गाउँपालिका–७, मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार साँझ ५ः३० बजेदेखि भीषण आगलागी भएको हो । उक्त केन्द्रमा आगलागी हुँदा रु अढाई करोड जतिको क्षति भएको छ ।
आगलागी नियन्त्रणका लागि प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र सफल भएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए । तेजपातसहितको ठूलो भण्डारण घर र औषधि प्रशोधन केन्द्रसमेत भएको स्थानीयवासी भरत थापाको घरमा शुक्रबार साँझ अचानक आगलागी भएपछि घरमा भण्डारण गरिएको रु दुई करोड बराबरको तेजपात र अन्य प्रशोधन गरिएको औषधि पूर्णरूपमा जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।
साँझ अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर नगरपालिकाको दमकल झिकाएको थियो । बेलुका ८ बजे दमकल घटनास्थल पुगेपछि प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा रातको १२ बजे मात्र आगलागी नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख राईले बताए ।
आगलागी नियन्त्रण ढिलै भए पनि मुर्कुची बजारका अन्य घर भने आगलागी हुनबाट बच्न सफल भएको पनि प्रहरीले बताएको छ । जिल्ला सदरमुकाम गाईघाटदेखि १५ कोष उत्तरपश्चिम पहाडी क्षेत्रमा रहेको मुर्कुची बजारमा दमकल र प्रहरीको टोली पनि पुग्न समय लागेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको प्रहरीले बताएको छ ।
औषधि प्रशोधन तथा तेजपात खरीदकर्ता भरत थापा राजधानी काठमाडौंतिर रहेको र घरमा औषधि प्रशोधन केन्द्रमा काम गर्ने मजदुर पनि कोही नभएको बेला अचानक आगलागी हुनुको कारण केही रहस्य भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले अहिले आगलागीको विषयमा अनुसन्धान शुरु गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्