विजय अगावै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई , बधाई दिनेमा बने पहिलो !

काठमाडौँ , जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई चुनावको पूर्ण परिणाम आउनु अगावै जितको शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गरेका छन्। उनी मोदीलाई बधाई दिने पहिलो सरकारप्रमुख हुन्।

लोकसभा निर्वाचनमा बहुमतले विजय प्राप्त गर्ने संघारमा रहेका मोदीलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।

ओलीले मोदीको अबको कार्यकाल पनि सफल रहोस् भनि कामना पनि गरेका छन् । बधाई सन्देशमा प्रधानमन्त्री ओलीले मोदीको अबको कार्यकालमा पनि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरेका छन् ।

भारतीय लोकसभा निर्वाचनको अहिले मतगणना भइरहेको छ। ५ सय ४२ लोकसभा सिटमा सत्तारुढ भारतीय जनता पार्टीले २ सय ९६ सिटमा अग्रता लिएको भारतीय चुनाव आयोगले जनाएको छ। आयोगका अनुसार प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसले मात्र ५१ स्थानमा अग्रता हासिल गरेको छ।

आयोगले अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रको मतगणना नसकिएको र कसैले पनि स्पष्ट जित हान नपारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्