भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक जना घाइते, अरुको अवस्था यस्तो

काठमाडौं, जेठ ७ । भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीले विप्लव समूहका कार्यकर्तालाई गोली प्रहार गरी पक्राउ समेत गरेको छ ।

भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनिको धोद्लेखानी जंगलमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार १०–१५ जना हतियारधारी समूहको टोली रहेको सूचना पाएपछि पुगेको प्रहरीलाई जंगलमा समूहभन्दा पछाडी रहेका एक व्यक्तिले कम्मरमा भिरेको पेस्तोल फायरिङ गर्न खोजेपछि प्रहरीले जवाफी गोली चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

उनका अनुसार घाइतेको तिघ्रामा गोली लागेको छ । घाइते भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरे रहेको प्रहरीले बताएको छ ।
गस्ती गर्ने क्रममा जम्काभेट भएपछि गोली प्रहार भएको हो । जंगलमा रहेका विप्लव समूहका अन्य कार्यकर्ता खोटाङतर्फ भागेको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान कटुवा पेस्तोल पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सदरमुकाबाट करिब ७० किलोमिटर टाढाको दुरीमा रहेको जंगलमा रहेका विप्लव समूहका कार्यकर्ताले गाउँबस्तीमा त्रास सिर्जना गरेको गुनासो आएपछि प्रदेश १ प्रहरी टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले गस्ती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्