नर्सिङ संघद्धारा अनशनरत् नर्सका माग पूरा गर्न आग्रह, नगरे आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं, जेठ ७ । नेपाल नर्सिङ संघले नर्सिङ क्षेत्रको सुधारको माग राख्दै १२ दिनदेखि अनशनरत् नर्स जिता बरालको माग पूरा गर्न आग्रह गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले नर्सहरुलाई तलबबिना नै काममा लगाउने प्रथाको अन्त्य गराउन सरकारसमक्ष आग्रह गरेको हो ।

नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले आन्दोलनरत् नर्सले उठाएका माग सम्बोधन नभए संघ पनि आन्दोलनमा उत्रने चेतावनी दिइन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले अनशनरत् नर्सहरुको मागमा छलफल गरेर छिटोभन्दा छिटो यो विषय टुंग्याउन आग्रह गरे ।

बिरामी र नर्सको अनुपात मिलाउनुपर्ने, नर्सिङसम्बन्धी कानुन निर्माण हुनुपर्ने, नर्सिङ महाशाखालाई क्रियाशील बनाउनुपर्नेलगायतका १० बुँदे माग राख्दै नर्स बराल अनशनमा छिन् ।

यसअघि, भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा रहेका नर्सहरुलाई हटाउने गरी लोकसेवाको विज्ञापन निकालेको विरोधमा केन्द्रमा कार्यरत् नर्स डिकी शेर्पा अनशनमा बसेकी थिइन् । उनको अनशन गत आइतबार तोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्