पाँचथर सामूहिक हत्याकाण्ड अपडेट : आत्महत्या गर्ने युवक नै हत्यारा भएको आशंका, भागेर बाँच्न सफल भएकी बालिकाले दिइन यस्तो बयान

काठमाडौं, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ ।


जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिए ।

उनका अनुसार अहिले प्रहरी उनकै संलग्नता रहेको निष्कर्षमा पुगिनसकेको भएपनि प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्न सक्ने आधारहरु फेला परेका छन् । स्थानीय सरोज शर्माका अनुसार आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।

केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनुसार आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारीले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् ।

सीता पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको प्रवक्ता पोखरेलले जानकारी दिए । सीतालाई उपचारका लागि फिदिम ल्याइएको छ ।

मकुन्डो लगाएर आएको हतियारधारीको समूहले ९ जनाको नै विभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता (इन्सपेक्टर) अनिल पौडेलले जानकारी दिए । हत्या के कारणले भयो भन्नेबारे खुल्न सकेको छैन ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्