नेकपा जनवर्गीय सङ्गठनको नेतृत्व टुंगो लगाउँदै नयाँ रणनीतिमा

काठमाडौं, ५ जेष्ठ । नेकपाले बल्लतल पार्टी एकताको एक वर्षमा जनवर्गीय सङ्गठनको नेतृत्व टुंगो लगायो । नेकपामा सङ्गठनात्मक एकताको काम करिब–करिब टुङ्गिएको र अब नयाँ योजनाकासाथ जाने छदफल भएको निकर्षमा पुगेको छ ।
पोलिटब्युरो गठनदेखि केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम बाँकी रहे पनि नेकपाले अब पार्टीको नयाँ योजना बनाउन थालेको स्रोतको दावी छ । एकतापछि नेकपाका शीर्ष नेताहरूले अब मूलतः पार्टी दुईवटा योजनामा केन्द्रित हुने सङ्केत गरेका अमुर्त प्रनहरु गर्न थालेका छन् ।

नेताहरूका अनुसार अब नेकपाले सङ्गठनात्मक क्षेत्रमा तल्ला कमिटीका अधिवेशन, जनवर्गीय सङ्गठनका अधिवेशन र पार्टी सदस्यलाई सङ्गठितदेखि केन्द्रीय महाधिवेशन लक्षित कार्ययोजना बनाएको छ । यसबाहेक पार्टी कार्यकर्तालाई परिचालन गरेर वडादेखि जिल्लासम्म र प्रदेशदेखि जनसङ्गठनसम्मको एकतालाई पूर्णता दिएसँगै ती सङ्गठनमा रहेका नेता कार्यकर्ताले सङ्गठन र जनतासँग जोड्ने गरी परिचालन हुने योजना खोजेका छन् ।

पार्टी एकता हुँदाको मार्गचित्रअनुसार केन्द्रीय नेतृत्वले योजना बनाउने छ । गत पुसमा सकिएको स्थायी समितिको बैठकमा पारित राजनीति प्रतिवेदनको जगमा आगामी कार्यक्रम तय गर्ने नेताहरूको योजना छ ।

विभिन्न कमिटी र पार्टीनिकट रही विभिन्न क्षेत्र र पेसामा रहेका जनसङ्गठनहरूले पार्टी र सरकारका कामबारे सम्बन्धित क्षेत्र र जनतमा सन्देश प्रवाह गर्न नपाएको भन्दै नेकपामा गुनासो रहँदै आएको थियो । पार्टीका वरिष्ठ नेताहरूले नै एकतामा ढिलाइ हुँदा लाखौँ कार्यकर्ता बेरोजगार भएको बताउँदै आएका थिए । एकताले ती कार्यकर्तालाई काम दिने बाटो खोलेको छ । अब नेकपाले नयाँ योजना बनाएको छ ।

त्यस्तै कम्युनिस्ट पार्टीको स्थापना दिवसमा जारी विज्ञप्तीमा पनि नेकपाले जनपरिचालनको विषय उठाएको थियो । विज्ञप्तीमा थियो, ‘सिङ्गो पार्टीपङ्क्ति र आम जनसमुदायलाई राष्ट्रव्यापी रूपमा परिचालित गर्न विशेष अभियान सञ्चालन गरिनेछ ।’

पार्टी एकताका धेरैजसो काम सकिएपछि नेकपाले विभिन्न तहका कमिटी, जनसङ्गठन र केन्द्रीय महाधिवेशनलाई कार्ययोजना बनाउँदै दुर्ई वर्षभित्र महाधिवेशन गर्ने सहमति गरेको थियो । पार्टी एकताको एक वर्ष पूरा भइसकेको छ ।

एकताका मुख्य काम टुङ्गिएपछि पछिल्लो एक महिनायता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक महाधिवेशनको कुरा उठाएका छन् ।

एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महिनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको भन्दै जनवर्गीय सङ्गठनको एकता हालै गरिएकाले भदौदेखि मङ्सिर महिनामा जिल्ला अधिवेशन गरी त्यसपछि केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने योजना रहेको अध्यक्ष प्रचण्डले बोलिसकेका छन् ।

त्यस्तै पार्टी एकताको एक वर्षको अवसरमा पनि अध्यक्ष प्रचण्डले पार्टी अभियान र महाधिवेशनबारे बोलेका थिए । उनले भनेका छन्, ‘हामीले ८ महिनाभित्र ७७ जिल्ला र प्रवाससमेतको सम्मेलन सकिसक्नुपर्ने छ । एक वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । त्यो अभियान खाली सम्मेलन सफल पार्ने र महाधिवेशन सफल पार्ने अवधि मात्र हुनेछैन । एउटा महान बहसको अवधि पनि हुने छ ।’

प्रतिक्रिया दिनुहोस्