प्रदेशसभामा समानुपातिक सांसद: दलले पठाएका नाममा आयोगले आज छलफल गर्दै

काठमाडौं ।निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिकबाट सांसदका लागि दलहरुले पठाएको नामावलीमा शनिबार छलफल गर्दैछ । शुक्रबार सबै दलले नाम बुझाएकाले शनिबार ति नाममा छानविन गर्ने आयोगले जनाएको छ ।

आयोगले दलले पठाएका प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम अनुसार भए–नभएको छानवीन गरी केही नमिलेको भए आइतबारदेखि आउँदो मंगलबारसम्मको समय दिएर सच्याउन लगाउने तयारी भएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार केही गल्ती नभेटिए सोमबारसम्ममा आयोगले सबै प्रतिनिधिलाई निर्वाचित घोषणा गर्नेछ ।

सातवटा प्रदेशमा समानुपातिकका २ सय २० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशील साझाले तीन–तीन, राष्ट्रिय जनमोर्चाले २ र अरु पाँच दलले एक–एक जना सांसद पाएका छन् । प्रतिनिधिसभाको भने समानुपातिकतर्फको सिट बाँटफाट अझै भएको छैन ।

प्रतिक्रिया दिनुहोस्