सरकारको कामविरुद्ध केही तत्वहरुले षड्यन्त्र गरेको छ: प्रधानमन्त्री ओली
काठमाडौं, ३ जेष्ठ । मदन आश्रित दिवसलाई नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रा गरि मनाएको छ । यसै अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भइरहेको बताउनुभएको हो ।
उहाँले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गर्नुभयो । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी पनि गर्नुभयो ।
अहिले आफ्नो पार्टी बहुमतकासाथ सरकारमा रहेको भन्दै उहाँले अहिले नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन । अहिले हामीसँग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार ।’
प्रतिक्रियावादी, नेपालविरोधि, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको बताउनुभयो ।
छुटेकाहरु बाँकी संगठनमा समेटिदै जाने भन्दै उहाँले एकता र एकीकरणको भावनालाई ध्यानमा राखेर मन फराकिलो बनाउदै अघि बढ्न सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो ‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन । यतिबेला फराकिलो पन र फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई ध्यानमा राख्दै अघि बढ्ने हो ।’
अब दुवै पार्टी अन्तरघुलित भएर एक भएको भन्दै उहाँले यसैलाई बुझेर सबै नेतृत्व पाउने साथीहरुले जिम्मेवारी निर्वाह गर्नेछन् भन्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।
एकताका केही काम बाँकी रहेको भए पनि ती कामले केही दिन भित्र नै पूर्णता पाउने पनि उहाँले विश्वास दिलाउनुभयो । उहाँले पराजित प्रतिक्रियावादी शक्तिहरुले सहजै पराजय स्वीकार्न नसक्ने र उनीहरु सधै नागरिकको खुसीलाई भत्काउन लागि पर्ने गरेकाले सरकारका आगाडि धेरै चुनौति रहेको बताउनुभयो ।
उहाँले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार जस्ता कुरामा सरकार कठोरताका साथ लागिरहेको भन्दै सरकारले गरिरहरहेको कामविरुद्ध केही तत्वहरुले षड्यन्त्र गर्दै सरकार विरुद्ध नै हमला गर्न लागेको र त्यसलाई परास्त गर्दै अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्