सगरमाथाको चुच्चुरोमा ६५ जना आरोहि, अन्य पालो पर्खाइमा

काठमाडौं, ३ जेष्ट । सगरमाथा आरोहण गर्ने संख्या वृद्धि हुँदै गएको छ । वसन्त ऋतुमा मात्र सगरमाथा आरोण गर्न सकिन्छ । यस सिजनमा आज मा ६५ आरोहीले सगरमाथाको शिखर (चुच्चुरो) मा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि सुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए ।

बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् ।

बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार बिहान आधार शिविरमा रहनुभएका नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठसँगको टेलिफोन संवादका बेला एकै दिन सयभन्दा बढीले आरोहण गर्ने आँकलन गर्नुभएको थियो । अहिले आधार शिविरदेखि क्याम्प चारसम्म मानिसको चहलपहल बढेको छ ।

सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण शुरु भएको हो । विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष ४० करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्