चलचित्र फिर्केको टोली देश दौडाहामा

काठमाडौं नेपाली कथानक चलचित्र ‘फिर्के’को कलाकार टोली प्रचारप्रसारको क्रममा देश दौडाहामा छ । टोली पूर्वी नेपालका विभिन्न जिल्ला घुमेर शुक्रबार चितवन आइपुगेको हो ।

हाँस्य कलाकार रवि डंगोलले निर्देशन गरेको चलचित्र यही पुस २१ गतेदेखि देशभरका विभिन्न चलचित्र हलहरूमा एकैसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । हाँस्य व्यङ्ग्यमा आधारित चलचित्रमा गाउँदेखि सहर पसेको युवाको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्रका निर्देशक डंगोलले बताए ।

हाँस्य व्यङ्ग्य क्षेत्रमा सफल भएका कलाकार डंगोलले निर्देशनको पाटोमा पनि आफू सफल भइने दाबी गरे । हाँस्य कलाकारहरूको टिम बनाएर चलचित्र निर्माण गरिएको उनले बताए । चलचित्रकी कलाकार बिना थापाको केही दिनअघिमात्रै सडक दुर्घटनामा पनि निधन भएको भन्दै चलचित्र निर्माण पक्षले दुःख व्यक्त गरेको छ । साथै चलचित्रको टोलीले स्वर्गीय शिव रेग्मीको समेत स्मरण गरेको छ ।

कलाकारप्रति राष्ट्रले खासै चासो नदिएको भन्दै कलाकारलाई राष्ट्रको गहनामात्रै भनेर नहुने निर्देशक डंगोलले बताए । ईकुको नामले चिनिएका कलाकार तथा फिर्के चलचित्रका प्रस्तुतकर्तासमेत रहेका सुलेमान शंकरले ईकु र ईकु ब्याक अगेनभन्दा फरक तरिकाले फिर्के बनेको दाबी गरे ।

चलचित्रमा करिब एक करोड रूपैयाँ लगानी भएको निर्माता राजेश श्रेष्ठले बताए । चलचित्र ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरूङ, उज्ज्वल भण्डारी, पुरन थापा, भीष्म जोशीलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

ओमलाल गुरूङ र राजेश श्रेष्ठले निर्माण गरेको चलचित्रको कथा भने अभिमन्यू निरवीले लेखेका हुन् । दुईवटा गीत रहेको यो चलचित्रमा विश्व नेपाली र सुवास भुसालको संगीत, विश्व नेपाली, रामचन्द्र काफ्ले अञ्जु पन्त र जुना प्रसाईंले आवाज दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्