अध्यादेशको बाटो खुले संगै फेरि अर्को विवाद , राष्ट्रियसभा पहिले कि सरकार ?

काठमाडौं । अध्यादेशको बाटो खुले संगै फेरि ठूला दलहरुबिच नयाँ सरकार गठन कहिले भन्ने विषयमा अर्को विवाद सुरु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा चुनाव सम्बन्धी अध्यादेश स्वीकृत गरेसँगै बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली भन्ने विवाद अन्त्य भएको छ ।

झण्डै तीन हप्तादेखि जारी विवाद अन्त्य भएसँगै अब फेरि दलहरुबिच नयाँ सरकार निर्माणबारे मतभिन्नता देखिन थालेको हो । एमाले माओवादी राष्ट्रियसभा चुनावी अघि नै नयाँ सरकार गठन हुनुपर्ने पक्षमा उभिएका छन् भने कांग्रेस राष्ट्रियसभा गठनपछि नयाँ सरकार बनाउनुपर्ने अडानमा देखिएको छ ।

नयाँ सरकार बनाउने कि राष्ट्रियसभापछि सरकार बनाउने भन्ने बहस सुरु भएको छ । नेपाली कांग्रेस राष्ट्रियसभा गराएर मात्र सत्ता हस्तान्तरण गर्ने पक्षमा उभिएको छ ।

राष्ट्रियसभा अघि कि पछि नयाँ सरकार भन्नेमा दुवै पक्षका आआफ्ना स्वार्थ छन् । एमाले तत्काल समानुपातिकको सिट निर्धारण गर्न आयोगलाई आग्रह गर्दै आएको छ ।

तर दलहरुबिचको फरक फरक धारणाकै कारण निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट निर्धारण गर्न आलटाल गर्दै आएको छ । आयोग राष्ट्रियसभाको चुनावपछि मात्र समानुपातिक सिट बाँडफाँड गर्ने मनस्थितिमा पुगेको छ । यसअघि प्राविधिक काम भइरहेको बताउँदै आएको आयोगले शुक्रबार अध्यादेश स्वीकृत भएसँगै सरकारलाई राष्ट्रियसभाको चुनावको मिति तोक्न आग्रह गरेको छ ।

शुक्रबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयोगका पदाधिकारीले चुनावको मिति र अरु तयारी गरिदिन आग्रह गरेका हुन् । आयोगको यस्तो कमदप्रति वाम गठबन्धनले असहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्