साझा विवेकशील पार्टीले भन्यो – दलआबद्ध सबै पत्रकार संगठन भङ्ग गर्नुपर्छ

काठमाण्डौ , बैशाख ३० । सरकारले संसदमा दर्ता गराएको ‘मिडिया काउन्सिल विधेयक’प्रति साझा विवेकशील पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले विधेयक ल्याउन लागेको भन्दै साझा विवेकशीले आपत्ति जनाएको छ ।

‘मिडिया काउन्सिल विधेयक’ बारे आफ्ना विचार राख्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारले नेपाली मिडियालाई नियन्त्रण गर्न चाहेको बताए । उनले भने , ‘नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठीत गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख छ भन्ने हाम्रो ठहर हो ।’

राष्ट्रियता, जनजीविका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा बर्तमान सरकारको डेढ वर्षे कार्यकाल अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकप्रिय भएको परिप्रेक्षमा सरकार आफ्ना असफलताको ढाकछोप गर्न चाहेको पनि साझा विवेकशीलले आरोप लगाएको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुले नै स्वास्थ्य, शैक्षिक, आर्थिक र भूमि माफियासँग हिमचिम बढाइरहेको प्रमाण नेपाली मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरूले मिडियालाई आफ्नो ‘मुख्य दुश्मन’ ठान्नु स्वभाविक भएको साझा विवेकशीलले प्रतिक्रिया दिएको छ ।
यसैबिच साझा पार्टी मिडियालाई मर्या्दित बनाउन सरकारसँग विभिन्न माग राखेको छ ।


माग यस्ता छन्
१. संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयक अविलम्ब फिर्ता गरी सरोकारवालाहरुसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअनुकुल कानुन निर्माण गर्न साझा पार्टी सरकारसँग माग गर्दछ ।

२. हामी स्वतन्त्र मिडियाको कट्टर हिमायति भए पनि मिडियाले पनि आफ्नो जिम्मेवारी वहन गर्नु पर्छ भन्नेमा सचेत छौँ। तसर्थ, साझा पार्टी स्वार्थको वझान (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुन नदिन तथा स्वतन्त्र र जिम्मेवार प्रेसको रक्षा गर्न पत्रकारहरुको दलैपिच्छे भगिनी संगठन बनाइनु हुँदैन भन्ने मान्यता राख्दछ । पत्रकारहरूको हकहितको रक्षाका लागि गैरराजनीतिक एउटा छाता संगठन हुनु पर्छ । दलआबद्ध अन्य सबै पत्रकार संगठन भङ्ग गरिनु पर्दछ भन्ने हाम्रो ठहर छ ।

नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेसले पुर्याएको अतुलनीय योगदानको परिप्रेक्षमा प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमका विरुद्ध हामी मिडिया जगतसँग साथ रहने छौँ ।

प्रतिक्रिया दिनुहोस्