पत्रकार महासंघले सुरु गर्‍यो आन्दोलनका कार्यक्रम: सरकारले विधेयक नसच्याएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाण्डौ , बैशाख २९ । नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।

साताव्यापी आन्दोलनको पहिलो दिन आइतबार महासँघका पूर्व पदाधिकारी, कानुनविद्, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसिएसन र सम्पादकहरुसँग छलफल भएको छ ।

महासंघको कार्यालय सञ्चारग्राम काठमाण्डौमा भएको छलफलमा मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले नागरिकलाई सुसूचित गर्दै वास्तविकता देखाउने सञ्चार क्षेत्रलाई सरकारले लक्षित गरेको बताए ।

त्यस्तै बारका उपाध्यक्ष रक्षा बस्यालले बार नेपाल पत्रकार महासंघसँगै रहने प्रतिबद्धता जनाए । उनले सञ्चारमाध्यममा हुने गरेका कमजोरी सच्चिनुपर्ने तर सरकारले नियन्त्रण गर्न नहुनेमा जोड दिए ।

त्यसैगरी महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले ऐन बन्न आवश्यक मापदण्ड नै पूरा नगरी मिडिया काउन्सिल विधेयक आएको बताए । छलफलमा सहभागी कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले प्रेस काउन्सिल कमजोर हुँदाको फाइदा उठाएर सरकारले विधेयक ल्याएको बताए ।

उनले सञ्चारमाध्यमकै सहभागितामा प्रेस काउन्सिलको बोर्डमा पदाधिकारी पठाउनुपर्नेमा जोड दिए ।

नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले पनि सरकारले प्रेसलाई दबाउन खोजेको भन्दै अहिले आउन लागेको प्रावधान मान्य नहुने बताए । नागरिक दैनिकका सम्पादक गुणराज लुईंटेलले सञ्चारमाध्यम नागरिकका सारथी भएकै कारण सरकार रुष्ट देखिएको टिप्पणी गरे ।

महासंघका महासचिव रमेश विष्टले महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउन जिम्मेवार पक्षलाई आग्रह गरे । उनले सरकारले विधेयक नसच्याएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।

सरकारले ल्याएको विधेयक स्वतन्त्र पत्रकारिता तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको ठहर गर्दै आन्दोलन घोषणा गरिएको पनि उनले बताए ।

पहिलो चरणमा छलफल, ध्यानाकर्षण, अन्तरक्रिया लगायत विरोधका कार्यक्रम राखिएको र सरकारले विधेयक फिर्ता नगरे दोश्रो चरणका आन्दोलन तय गर्ने पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्