संसदमा प्रयोग भएका प्रधानमन्त्री र प्रतिपक्ष सांसदका अमर्या्दित शब्द रेकर्डबाट हटाइने, सभामुखले दिए यस्तो निर्देशन

काठमाण्डौ , बैशाख २७ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्नुभएको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यस दिन प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिएपछि प्रधानमन्त्री ओलीलाई सांसदहरुले पुनस् स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरणमा उठेका जिज्ञासाको जवाफ दिन रोष्ट्रम पुग्नुभएका प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरा छाडेर प्रश्नको जवाफ दिन्छु भनेपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नलाई निम्छरा भनेर असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध गरेका थिए ।

प्रतिपक्षीले त्यसैदिन प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेको विषयमा आफ्नो ध्यानाकर्षण भएकाले बस्न पटक(पटक अनुरोध पनि गरेका थिए । तर प्रतिपक्षी कांग्रेसले विरोध गर्न नछाडेपछि विरोधकै बीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो ।

त्यसपछि शुक्रबार बसेको बैठकको सुरुमा नै सभामुख महराले मंगलबारको बैठकमा प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाउने सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख महराले भने, ‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननिय प्रधानमन्त्रीज्युले स्पष्टिकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादाअनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुख महराको निर्देशनलगत्तै सत्तापक्षीय सांसद खगराज अधिकारी उठेर नियमापत्ति गर्दै त्यस दिन प्रधानमन्त्रीविरुद्ध पनि असंसदीय भाषा प्रयोग भएकाले तिनलाई पनि हटाउन माग गरे ।

लगत्तै सभामुख महराले त्यस दिन बैठकमा बोलिएका सबै असंसदीय शब्दहरु हटाउन निर्देशन दिएको बताउनुभएपछि बैठक अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्