धनगढीमा गर्मी उफ्…….. तापक्रम ४२.१ डिग्री नाघ्यो, ‘लु’ले जनजीवन प्रभावित

काठमाडौं, बैशाख २६ । धनगढीमा एकसातादेखि दिन प्रतिदिन तापक्रम बढिरहेकोछ। गत शनिबार देखि हरेक दिन तापक्रम बढिरहेको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।

फिल्ड कार्यालयका प्रमुख सिंगल चौधरीका अनुसार गत शनिवार ३७ डिग्री रहेको तापक्रम बढेर अहिले ४२.१ सम्म पुगेको छ। बुधवार अधिकतम तापक्रम ४१.६ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। धनगढीको न्यूनतम तापक्रम भने १९ डिग्री सेल्सियस छ।

बिहीवार दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४२.१ डिग्री मापन गरिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख चौधरीका अनुसार दिउँसोको भन्दा बेलुका साढे ५ बजे मापन हुने तापक्रम बढ्ने हुँदा आज बेलुकाको तापक्रम ४२.५ देखि ४३.० हुने अनुमान छ।

पछिल्लो एक सातादेखि तापक्रम ४०र४१ डिग्री सेल्सियसकै हाराहारीमा मापन गरिएको कार्यालयले जनाएको छ। पानी नपरेका कारण गर्मी अझै केही दिन कायमै रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाको छ।

महाशाखाका अनुसार धनगढीमा ३र४ दिन यता पानी पर्ने सम्भावना निकै न्यून छ। पानी नपरेसम्म तापक्रम नघट्ने कार्यालयको अनुमान छ।

तापक्रम बढ्दै जाँदा धनगढीमा जनजीवन प्रभावित भएको छ। चर्को गर्मीसँगै तातो हावाका कारण जनजिवन प्रभावित भएको छ।

गर्मीका कारण धनगढीमा रिक्सा, ठेला चलाउने मजदुर, सडक पेटीमा मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित भएको पाइएको छ। धनगढीमा चर्काे घामसँगै तातो हावा ‘लु’ समेत चल्न थालेको छ।

धनगढीसँगै अन्य बजारहरूमा समेत साँझ बिहान बाहेक दिउँसोको समयमा चहलपहल निकै घटेको र गर्मीका कारण बजारमा चिसो पेय पदार्थको बिक्री भने दोब्बर बढेको व्यवसायीहरूले बताए।

गर्मी बढेका कारण ज्वरो, झाडापखाला, टाउको दुख्ने, पेट दुख्ने, रिंगटा लाग्ने तथा वान्ता हुने लगायतका बिरामी अस्पतालमा बढी आउन थालेका स्वास्थ्य संस्थाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्