अमेरिकाका लागि नेपाली राजदूत कार्कीको समयावधि थप, नेपाल प्रवेश गर्ने विदेशीको भिसा शुल्क बढ्यो (यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय)

काठमाडौं, बैशाख २६ । सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निरन्तरता दिने भएको छ ।

सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबारको नियमित पत्रकार सम्मेलनमा डा.कार्कीको समयावधि थप गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेनलमा गत बैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको थियो । त्यस्तै मन्त्रिपरिषदले विद्युत नियमन परिषदको अध्यक्षमा डिल्लीबहादुर सिंह तथा सदस्यहरुमा रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार र भागीरथी भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले अध्यागमन नियमावली २०५१ को नियम ४६ बमोजिम अनुसुची ९ र १२ हेरफेर गरी राजपत्रमा सुचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग लिँदै आएको भिसा शुल्क वृद्धि गरको छ।

सरकारले अध्यागनम नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शुल्क बढाउने निर्णय गरको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

सरकारले १५ दिनको बहुप्रवेशी सुविधा सहितको भिसाका लागि ३० डलर बनाउने निर्णय गरेको हो। यसअघि यो शुल्क २५ डलर थियो। यसैगरी ३० दिनको लागि ५० डलर र ९० दिनको लागि १२५ डलर पुर्‍याउने निर्णय भएको बास्कोटाले जानकारी दिए। यसअघि ३० दिनको लागि ४० र ९० दिनका लाथि १ सय डलर थियो।

योसँगै सरकारले म्याद थपमा प्रतिदिनको ३ डलर पुर्‍याएको छ। यसअघि म्याद थपमा प्रतिदिनको २ डलर मात्रै थियो। साथै ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा पनि ३० डलर लिने गरी नियमावली परिवर्तन भएको बास्कोटाले जानकारी दिए।

तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका राहदानी बाहकलाई ३० दिनसम्मको अवधिका लागि भिसा दस्तुर लाग्नेछैन।

यसैगरी, पदयात्रा दस्तुर सम्बन्धमा पनि माथिल्लो मुस्ताङ र माथिलो डोल्पा पदयात्रा गर्न पर्यटकसँग पहिलो १० दिनको लागि ५ सय डलर र त्यसपछि भने प्रतिदिन ५० डलर थप हुने बास्कोटाले जानकारी दिए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

प्रतिक्रिया दिनुहोस्