राष्ट्रपतिको सम्बोधनमा नेपाल सरकार बदलेर मेरो सरकार: काँग्रेसको प्रश्न ? यो सरकार नेपाली जनताको कि राष्ट्रपतिज्यूको ?

काठमाडौं , बैशाख २० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार ‘नेपाली जनातको कि राष्ट्रिपतिको ?’ भन्दै प्रश्न गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि काँग्रेसले यस्तो प्रश्न उठाएको हो ।

काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्विट गर्दै प्रश्न गरेका छन् यस्तै काँग्रेसका सांसद गगन थापाले पनि राष्ट्रपतिको सम्बोधन प्रति आपत्ति जनाएका छन् ।

राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं मेरो सरकार भन्ने गर्थे । गणतन्त्र स्थापनापछि पहिलोपटक राष्ट्रप्रमुखले राजाले जस्तै मेरो सरकार भनेर सम्बोधन गरेपछि टीकाटिप्पणी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधनमा नेपाल सरकार पदोन्नति भएर मेरो सरकार बनेको छ । अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा यो सरकार र नेपाल सरकार भनिएको थियो ।

पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि नेपाल सरकार भनेर सुरू गरिन्थ्यो । उनी आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयो नगरी यस्तो गरिनेछ भन्थे । कतिपय ठाउँमा उनले वर्तमान सरकार पनि भनेका छन् । तर कुनै पनि ठाउँमा मेरो सरकार भनेनन्।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन् म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ? भन्दै प्रश्न गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन् मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला श्री ५ को सरकार थियो, राजाले मेरो सरकार भनेर सम्बोधन गर्थे आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ? उनको प्रश्न थियो ।

नीति तथा कार्यक्रम नेपाल सरकारले नै तयार पार्छ। सम्बोधनअघि संसद बैठकमै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गर्छन् । त्यसैले यसमा लेखिने भाषा र सम्बोधन सरकारले नै तयार पार्छ ।

प्रतिक्रिया दिनुहोस्