सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाखलाई रोजगारी दिने, झोलुङ्गे पुल लिएर सरकार खोला खोलामा पुगेको छः राष्ट्रपति भण्डारी

कठमाडौं, बैशाख २० । सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ ।

मौलिक हक तथा विभिन्न ऐन कानुनहरु निर्माण गरिएकाले संविधान कार्यान्वयन गराउने सवालमा सरकार सफल भएको पनि उहाँले बताउनुभयो । अहिलेको सरकारको प्रयासले नै पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको भन्दै देश समृद्धितर्फ अग्रसर भएको पनि उहाँले बताउनुभयो ।

झोलुङ्गे पुल लिएर सरकार खोला खोलामा पुग्यो


राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको सुखदुखमा सरकार घरदैलोमा पुगेको भन्दै सह्राना गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले तुइन मार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुगेको भन्दै सरकारको सह्राना गर्नुभएको हो ।

उहाँले प्रसव पीडामा छटपटिएकी सुत्केरीको उद्धार होस् वा हावाहुरीबाट प्रभावित बारा पर्साका पीडितहरुको लागि होस् सरकार तदारुकताका साथ उपस्थित भएको बताउनुभयो ।

नागरिकका घर दैलोमा नै सरकार पुगेको आभास दिलाउन कुनै कसर सरकारले बाँकी नराखेको भन्दै उहाँले यस्तो कार्यलाई अझै तीव्र बनाउन आग्रह गर्नुभयो ।

सरकारले लिएको आर्थिक नीतिको कार्यान्वयन उत्साहजनक रुपमा भइरहेको भन्दै उहाँले यसले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने आधार तय भएको पनि बताउनुभयो ।

पछिल्ला दुई वर्षमा ६ प्रतिशत र यस वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएकाले यसको आधार तय भएको हो ।

अहिले स्टिमर चल्न थालेको भन्दै उहाँले अब छिट्टै समुन्द्रमा नेपालको झण्डासहितको पानी जहाज चल्ने कार्य अघि बढेको, आफ्नै स्याटेलाइटमार्फत आवश्यक सूचना संकलनको सुरुवात हुनुले सरकारले लिएका सोचहरु सार्थक हुँदै गएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्