नेपालमा लगानी गर्नुुस् ! विदेशी लगानी प्रतिफलको ग्यारेन्टी सरकारले गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विदेशीहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्दै लगानीको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताएका छन् ।

उनले जनताको सुःखसहितको समृद्धि चाहेको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएकाले त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गरेका छन् ।

उनले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको बताए ।

शुक्रबार ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा प्रधानमन्त्रीले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने पनि स्पष्ट पारेका छन् ।

उनले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान पनि गरेका छन् । उनले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा गरिएको लगानी खेर जान नदिन सरकारले सुशासनमा जोड दिएको पनि स्पष्ट पारेका छन् । निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको पनि उनको भनाई छ ।

उनले नेपालमा लगानीका लागि आवश्यक सबै वातावरण बनेको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्