प्रदेश नम्बर १ को राजधानीमा सहमति जुट्न नसकेपछि संसद बैठक स्थगित, नेकपाभित्रै तीव्र विवाद

काठमाडौं, बैशाख १९ । प्रदेशको नाम र राजधानीका विषयमा सहमति जुट्न नसकेपछि प्रदेश नं. १ को संसद् बैठक स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गर्दै आजका लागि तय भएको प्रदेश सभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभा सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको जनाएको छ ।

प्रदेश १ संसद्ले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो ।

तर, दलहरुबीच सहमति हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेका छन् ।

प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन सत्तारुढ दल नेकपाको बैठक बुधबारदेखि नै पटकपटक बस्दै आएको छ ।

प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ राख्ने भन्नेमा तीव्र मतभेद छ ।

नेकपाका बहुसङ्ख्यक सांसदले विराटनगरको विकल्प खोज्न भन्दै हस्ताक्षर नै सङ्कलन गरेपछि राजधानी विवाद उत्कर्षमा पुगेको हो ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रिपरिषद्का सदस्यहरु विराटनगरमै राजधानी राख्नुपर्ने भन्नेमा छन् भने नेकपाका बहुसङ्ख्यक सांसद विराटनगरको विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्