प्रधानमन्त्री ओलीले भने – मजदुरका सम्बन्धमा कसैले नगरेका काम वर्तमान सरकारले गरेको छ

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले श्रमिकहरुका सम्बन्धमा अहिलेसम्मकै ऐतिहासिक काम गरेको बताएका छन्।

१३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार, रोजगारदाता र श्रमिकहरुबीच सुमधुर सम्बन्ध स्थापितका लागि सक्दो पहल गरेको बताए।

आफूले राम्रो काम गरिरहँदा पनि विरोध आएको भन्दै प्रतिपक्षिलाई लक्षित गर्दै ओलीले भने, ’नेपालमा जायजलाई जायज भन्न नसक्ने मनोवृति छ, केहीले विरोध नै गर्नुपर्ने केहीले समर्थन गर्नुपर्ने।’

उनले थपे, ‘अहिलेको सरकारले काम गरेन भने आलोचना गर्नुस् तर म मजदुरको हकहितका सम्बन्धमा म दावाका साथ भन्छु इतिहासमा कसैले नसुनेका, कसैले नदेखेका, कसैले चाहान्छु कसैले नदेखेको कसैले नगरेका काम गरेको छ।’

विगतका सरकारले कल्पनासमेत गर्न नसकेको काम अहिलेको सरकारले गरेको प्रधानमन्त्री ओलीको दाबी थियो।

प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना लगायत सरकारका व्यवस्थाले श्रमिकहरुलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने प्रधानमन्त्री ओलीले बताए।

यसैबिच कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा श्रमिकहरुका हकहितका सम्बन्धमा बनेका नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्