आज अन्तर्राष्ट्रिय श्रमिक दिवसः प्रधानमन्त्री , राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो छ शुभकामना सन्देश

काठमाडौँ , बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरि बेरोजगारको पहिचान र सूचिकरण गर्ने काम भइरहेको तथा केन्द्रमा सूचिकृत बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्थाका लागि कार्य प्रारम्भ भइसकेको बताए ।

सरकारले श्रमजीवीको अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले श्रम ऐनकै व्यवस्थाबमोजिम श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा यस गौरवमय दिनको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवि दिदीबहिनी एवं दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना प्रकट गर्दै नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको उच्च सम्मान व्यक्त गरेका छन् ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गरेकी छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संवैधानिक प्रावधान र भावनानुसार श्रमिकका हितमा काम हुनाका साथै योगदानमा आधारित सामाजिक सुरक्षा, नयाँ श्रम ऐन र रोजगारीको हकसम्बन्धी ऐनको कार्यान्वयन भई नेपाली मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आउने उल्लेख गरेकी छन् ।

सङ्घीयता कार्यान्वयनमा श्रमिकले खेल्दै आएको भूमिकाका लागि धन्यवाद दिँदै राष्ट्रपतिले मजदुर दिवससँगै श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित हुन सकून् भनी कामना गरेकी छन् ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवि वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव नभएको बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका लागि सबै श्रमजीवी वर्ग समृद्ध, सुखी र खुशी हुनुपर्नेमा जोड दिएका छन् ।

मजदुरको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयन गरिए मजदुरका धेरै अधिकार प्राप्त हुने उल्लेख गर्दैै उनले नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्