‘सहमतिबाटै अध्यादेश’

काठमाडौं । माओवादीले प्रमुख दलबीच राजनीतिक सहमति गरी राष्ट्रियसभा अध्यादेशको गाँठो फुकाएर नयाँ सरकार गठनमा जुट्नुपर्ने प्रस्ताव अघि सारेको छ। माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकमा नेताहरूले जनताले वाम गठबन्धनप्रति गरेको विश्वास र भरोसालाई निराशा र अविश्वासमा परिणत हुन नदिन तत्काल सरकार गठन गर्नुपर्ने बताएका हुन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटी राष्ट्रियसभा अध्यादेश लामो समय अल्झिराख्दा जनतामा निराशा बढेको बताएका थिए। शीतल निवासमा बिहान करिब डेढ घन्टा लामो भेटमा दाहालले मुख्य पाँच दलबीच परामर्श गरी राष्ट्रियसभा अध्यादेशलगायत विवादलाई निकास दिन पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। दाहालले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले पाएको सिट सार्वजनिक नगर्नु आश्चर्यजनक भएको बताउँदै यसका लागि राष्ट्रियसभा अध्यादेश किन र केका लागि आवश्यक परेको हो भन्ने कुरा स्पष्ट नभएको धारणा राष्ट्रपतिसँग राखेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले यथाशीघ्र साझा विन्दु पहिचान गरेर आउन दाहाललाई आग्रह गरिन्। ‘अध्यादेशमा यथाशीघ्र साझा विन्दु पहिचान गरेर आउनुहोस्। राष्ट्र र जनताको जनमत प्राप्त दलहरूले यस्तो अध्यादेशमा अल्झनु राम्रो हुँदैनु, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले भने। जवाफमा दाहालले मुख्य दलबीच बैठक बोलाएर निर्णायक पाइला चाल्न राष्ट्रपतिलाई सुझाव दिएको माओवादी सचिवालय सदस्य मणि थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्