नेपाल र चीनबीच ऐतिहासिक सम्झौता, राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, बैशाख १७ । नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यातायात तथा पारवाहन प्रोटोकलमा हस्ताक्षरसँगै औपचारिक रूपमा नेपालको समुद्रसँगको सम्पर्क एकतर्फी भारतमा मात्र रहँदै आएकोमा नेपालले चीन तर्फबाट पनि समुद्रसम्म पहुँच कायम भएको छ ।

सम्झौता अघि बेइजिङमा दुई राष्ट्रपति बीचको औपचारिक भेटवार्ता भएको थियो ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ’ग्रेट हल अफ द पिपल’मा द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताइएको छ ।

आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणकाक्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरिन् ।

चिनियाँ राष्ट्रपति सीले अन्तर्रा्ष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, संघीय संसदका सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्