खुलामञ्चमा सटर खरिद गर्नेहरु भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

काठमाडौं, वैशाख १६ । खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले आफूहरुलाई ठगेको व्यवसायीले बताए ।

खुलामञ्च कब्जा गरेर व्यापारिक सटर निर्माण गरेर प्रालिले साना व्यवसायीबाट करिब साढे पाँच करोड रुपैयाँभन्दा धेरै संकलन गरेको थियो ।

खुलामञ्चमा सटर खरिद गरेका नुवाकोटका सुजन तामाङले ८ लाख रुपैयाँ बुझाएको दावी गरे ।

खुलामञ्चमा सटर खरिद गरेकी मनमाया गुरुङले सटर खरिद गर्नका लागि ११ लाख रुपैयाँ बुझाएको बताइन् ।

स्वरोजगार व्यापार श्रमिक संघ कामनपा २८ इकाइका अध्यक्ष हरिप्रसाद पाण्डेले साना व्यवसायीले ऋण काढेर तथा धितो राखेर सटर किनेको बताए । ‘कुनै कागजपत्र गरेका छैनन्,’ उनले भने, ‘कसैले ऋण काढेर र कसैले बैंक तथा सहकारीबाट घर धितो राखेर लिएका हुन् । त्यसैले सरकारले तत्कालै आवश्यक कारवाही गरेर पैसा उठाइदिनुपर्ने देखिन्छ ।’

खुलामञ्चबाट सटर उठाउँदा ४० भन्दा धेरै साना व्यवसायी पीडित छन् । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्