बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनावग्रस्त, प्रदर्शन र तोडफोड

काठमाडौं , बैशाख १५ । चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

गोरखा घर भई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेको नौ महिनाका छोरा रुप्सन घिमिरेको शुक्रबार मृत्यु भएको थियो ।

अस्पतालमा लापरबाहीको कारण बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका छन् ।

नौ महिनाको बच्चालाई दुई बर्ष उमेर भनेर अस्पतालको रेकर्डमा लेखिएको र सोही अनुसारको बढी डोजको औषधी दिंदा बच्चाको मृत्यु भएको आफन्तको दावी छ ।

बैशाख ३ गते डिस्चार्ज गर्ने तयारी भएको बेला २ गते बेलुका नर्सले सुई लगाएलगत्तै बच्चा अचेत भएर स्वास्थ अवस्था नाजुक भएको मृतकका वुवा रुपेश घिमिरेले बताए ।

यता, अस्पताल प्रशासनले भने अस्पतालको तर्फबाट कुनै कमजोरी नभएको र बच्चाको उपचारमा सक्दो प्रयास गरेको जनाएको छ ।

उपचारको क्रममा बच्चाको श्वास नलीमा तरल पदार्थ जाँदा स्वास्थ्य अवस्था जटिल भएको अस्पतालको निर्देशक डा.दयाराम लम्साल बताउँछन् ।

अस्पतालमा तनाव भएपछि मेडिकल कलेजले बालकको शव अहिले अर्को सरकारी अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्