आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाख २८ हजार विद्यार्थी सहभागी
काठमाडौं, १५ वैशाख । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । साधारण तथा प्राविधिक विषय समूहतर्फको परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डकानुसार यो परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भइरहेका छन् । यो साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको कूल संख्या हो । वैशाख २६ गतेसम्म चल्ने परीक्षाका लागि देशभर गरि १ हजार १०७ परीक्षा केन्द्र ब्यवस्था गरिएको छ ।
बोर्डका अनुसार काठमाडौंबाट सबै भन्दा धेरै ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुनेछन् भने मनाङ जिल्लाबाट ५९ विद्यार्थी परीक्षार्थी सहभागी भइरहेका छन् । गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिए संगै परिक्षामा ब्यापक लापरबाही भएको जनगुनासो पछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो नहोस र परिक्षा मर्यादित होस भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ ।
परिक्षालाई मर्यादित गराउन जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि परेका पाइए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्यस्तो त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।
यो परिक्षा संचालनको लागि एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित करिब ३४ हजार ४९० जनशक्ति परिचालन गरिने बोर्डले जनएको छ ।
प्रतिक्रिया दिनुहोस्