इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्छु : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डौ, बैशाख १४ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढ्ने बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरु निष्पक्ष निर्वाचन गराउने तर्फ केन्द्रित गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

मनोहरा विद्यानगर सेवा समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको अभिनन्दन समारोहमा प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निष्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफू प्रयत्नशील रहने बताएका हुन् ।

निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनीय बनाएर मात्रै मुलुकमा सशासन कायम हुनसक्ने भन्दै उनले सम्पूर्ण शक्ति निश्पक्ष निर्वाचनमा लगाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

निर्वाचनमा निष्ठा र इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाइनुपर्ने तर्क गरे ।

उनले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी पनि गरे ।

उनले निर्वाचनलाई मर्या्दित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्