गुल्मीमा फैलिएको झाडापखाला अझै नियन्त्रण बाहिर : बिरामी हुनेको संख्या १ सय ६० पुग्यो

काठमाडौं, बैशाख १४ । गुल्मीमा झाडापखालाबाट बिरामी हुनेको संख्या १ सय ६० पुगेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका–४ को दजाकोटमा दूषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नसम्म १ सय ६० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीले बताए ।

बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा शनिवार दुई जनालाई डिस्चार्ज गरिएको छ भने एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।

अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताए ।

गुल्मी अस्पताल तम्घासमा डाक्टर उत्तम पचभैयाका अनुसार उपचारमा आएका पाँचै जनाको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा संक्रमण भएको हुनसक्ने बताए ।

पानी परीक्षणका लागि विश्व स्वास्थ्य संगठनबाट डाक्टरको टोली शनिबार नै प्रभावित क्षेत्रमा पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्