नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्ने सहमति, पुरानो श्रम समझदारी खारेज हुने

काठमाण्डौ, बैशाख १२ । नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्ने सहमति भएको छ ।

यूएईबाट आएको प्रविधिक टोलीसँग बुधबार र बिहीबार भएको छलफलबाट श्रम समझदारीको अन्तिम मस्यौदामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।

पुरानो श्रम समझदारीलाई खारेज गर्दै कामदारको सुरक्षाको प्रत्याभुत हुनेगरी नयाँ श्रम समझदारी गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मस्यौदामा नेपालबाट कामदार जाँदा शुन्य लागतमा जान पाउने, म्यानपावरको सेवा शुल्क पनि रोजगारदाताले नै व्यहोर्ने, २४ घण्टे बीमाको व्यवस्थासहित सामाजिक सुरक्षाको पनि ग्यारेण्टी हुने व्यवस्था रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ ।

अब दुबै देशको मन्त्रिपरिषद बैठकले समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय गरेर मन्त्री स्तरमा हस्ताक्षर हुनेछ ।

श्रम समझदारीमा कामदारलाई आर्थिक भार नपर्ने गरी आधारभूत अधिकारका साथै सुरक्षाको सुनिश्चितता गरिने उल्लेख छ ।

यसअघि नेपाली टोलीले माघ १६ र १७ गते यूएईसँग श्रम समझदारीबारे छलफल भएको थियो । युएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेको थियो ।

पहिलो चरणमा युएईले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै यूएई गएर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।

यूएईसँग यसअघि २००७ मा श्रम समझदारी भएको थियो । यसैबिच करारपत्र कस्तो हुने भन्ने विषयमा पनि दुई देशबीच सहमति जुटेको श्रम मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्