गृहमन्त्रीको पुर्ख्यौली गाउँमा झाडा–पखलाको महामारी, बालक देखि बृद्धसम्म , अवस्था नाजुक

काठमाडौं, बैशाख १२ । गृहमन्त्रीको पुर्ख्यौली गाउँमा नै झाडा–पखलाको महामारी फैलिएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडानम्वर ४ मा रहेको दजाकोट गाउँमा झाडा पखलाको माहमारी फैलिएको हो ।


दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्धसम्म सयौ जना झाडा पखलाबाट थलिएका छन् । स्थानीयहरु चार दिनदेखि माहमारीले थलिएपछि अवस्था नाजुक बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए ।

सवै गाउँले विरामी परेपछि वामीटक्सारबाट स्वास्थ्यकर्मी झिकाएर विद्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए ।

‘१५ देखि २० जनालाई सलानी पानी चढाईदै छ, केहिलाई जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ’ मेयर सापकोटाले भने । उनका अनुसार लुरेखोला मुहानको पानी पिउने सवै घरधुरी झाडापखलाको माहमारीमा परेका हुन् ।

नगरप्रमुख सापकोटाले पानीकै कारण झाडा पखलाको महामारी फैलिएको बताए । गाउँमा आउने पानीको मुहानमाथि लुगाकपडा धुने गरेका कारण पानीमा प्रदुषण मिसिएको हुनसक्ने स्थानीयले बताएका छन् ।

एक जना बेहोस महिलालाई जिल्ला अस्पताल पठाई सकिएको र थप चार जनालाई पठाउनुपर्ने देखिएको मेयर सापकोटाले बताए ।


स्थानीयका अनुसार करिव १५ बर्ष अघि पनि यस्तै खालको झाडापखलाको महामारी दजाकोटमा आएको थियो । दजाकोट गृहमन्त्री रामबहादुर थापा (वादल) को पुर्ख्र्यौली घर भएको स्थान हो ।

प्रतिक्रिया दिनुहोस्