राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनाको नवनिर्मित जङ्गी अड्डा भवनको उद्घाटन

काठमाडौं, बैशाख १० । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको नवनिर्मित मुख्यालय अर्थात् जङ्गी अड्डा भवनको उद्घाटन गरेकी छिन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् ।

गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा निर्माण सम्पन्न यो नै सबैभन्दा ठूलो आयोजना हो ।

विसं २०७३ जेठ २४ गते निर्माण थालिएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो । भवन निर्माणका लागि दैनिक ४०० जनशक्ति खटिएका थिए । सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड विनियोजन गरेको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार पुनःनिर्माणको अभियानलाई कसरी अघि बढाउन चाहन्छ भन्ने दृष्टान्तका रुपमा जङ्गी अड्डा भवन निर्माण भएको बताए ।

रक्षामन्त्री पोखरेलले, “राष्ट्रिय महत्वका विभिन्न राजमार्गको निर्माण समयमै सम्पन्न गरेर राज्यले दिएको जिम्मेवारीलाई सेनाले समयमै पूरा गर्दै आएको छ, प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनका घटनापछिका उद्धार र राहतका काममा पनि सेनाले क्रियाशील र जिम्मेवार ढङ्गबाट कार्यसम्पादन गरेको हुँदा सबैबाट प्रशंसा र धन्यवाद पाउँदै आएको” उल्लेख गरे ।

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालन हुनेछ । अलग अलग सात भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ । सैनिक मुख्यालयको सङ्गठन संरचनानुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा भूकम्पबाट क्षति भएपछि जङ्गी अड्डाका काम चौरमा पाल टाँगेर गर्नुपरेको भन्दै जङ्गी अड्डा भवन निर्माणसँगै सेनाको पूर्वाधार निर्माणमा व्यावसायिकता र कार्यदक्षता अभिवृद्धि हुने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि भइरहेको पुनःनिर्माणको कामको नमूनाका रुपमा सैनिक मुख्यालय भवन रहेको बताए । “भूकम्पमा क्षति भएका सात लाख निजी घरमध्ये हालसम्म ५० प्रतिशत घर बनिसकेको, ३० प्रतिशत निर्माणाधीन अवस्थामा रहेको तथा २० प्रतिशत लाभग्राहीलाई परेको अप्ठेरो सुल्झाउने क्रममा रहेको।” जानकारी उनले दिए ।

आवश्यकतानुसार छतमा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित पाँच सय व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङ्गी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचनाम क्षति पुगेको थियो ।

नयाँ भवनबाट दैनिक रूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्न सक्ने आयोजना प्रमुख एवं उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए । भूकम्प प्रतिरोधात्मक उक्त भवनमा क्युविकलसहित ४३० कोठा रहेको जानकारी पनि दिइयो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण तथा संवैधानिक निकायका प्रमुख उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्