विद्वानका सन्तान हामी निरक्षर हुनुहुन्न ! अब विद्वानहरुको देश बनाउनु पर्दछ: प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनुपर्ने बताएका छन् ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आफ्नो सरकारी निवास बालुवाटारमा नेकपानिकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए ।

‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ’ प्रम ओलीले भने ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’

युवा र विद्यार्थीलाई सृजनशिल र समाज सुधारको काममा लाग्न कुनै अवरोध नरहेको भन्दै प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको बताए ।

‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिए’ प्रम ओलीले भने ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।’

गत बर्षदेखि शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई निर्देशन दिए ।

उनले यस बर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुन नहुनेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्