बाढीबाट विस्थापितः सुर्खेतका एक हजार परिवारलाई असार अगावै पालबाट छानामुनि ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौंं, बैशाख ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताएका छन् ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको ‘बे्रक थु्रु’ गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजनामार्फत उत्पादकत्व बढाउने गर्ने बताए ।

उनले देशको अर्थतन्त्रलाई छिटोभन्दा छिटो परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे । राष्ट्रिय गौरवको यस आयोजनालाई प्रदेश, स्थानीय र सङ्घीय सरकारको ‘मित्रताको कार्यक्रम’ को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले प्रदेश नं ५ र कर्णाली प्रदेशका लागि यो आयोजना सद्भाव र समझदारीको नमूना हुने बताए ।

उनले नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशीलताका कारण तोकिएको समयभन्दा एक वर्षअघि नै सुरुङ निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गरे । प्रधानमन्त्रीले सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ (टिबिएम) बटन थिचेर ‘बे्रक थ्रू’ गरेका थिए ।

प्रधानमन्त्री ओलीले २०७१ सालको बाढीबाट विस्थापित सुर्खेतका एक हजार परिवारलाई असार अगावै पालबाट छानामुनि ल्याउने प्रतिबद्धता व्यक्त गरे । यस कार्यका लागि प्रदेश र स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै उनले ६० केन्द्र र ४० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने बताए ।

चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्