समायोजन संशोधनका लागि दैनिक मन्त्रालय धाउँदै कर्मचारी

काठमाडौँ, बैशाख ३ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महिना नबित्दै संशोधनको माग गर्दै उनीहरु दैनिक रुपमा मन्त्रालय धाउन थालेका छन् ।

सरकारले गत चैत १४ गते तीनै तहमा करिब एक लाख ३१ हजार कर्मचारी समायोजन गरेको थियो । तर समायोजनप्रति चित्त नबुझे सरकारले ‘गुनासो व्यवस्थापन समिति’ मार्फत आफ्नो गुनासो राख्न पाउने व्यवस्था गरेपछि कर्मचारीहरु दैनिक रुपमा मन्त्रालयमा आएर गुनासो दर्ता गराउन थालेका छन् ।

यसरी गुनासो दर्ता गराउनेमा अधिकांश स्थानीय तहमा समायोजन भएका कर्मचारी छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासो सम्बोधनका लागि ‘गुनासो सहयोगी कक्ष’ समेत स्थापना गरेको छ ।

विशेषगरी प्रशासन र स्वास्थ्य सेवातर्फ समायोजन भएका कर्मचारीले असन्तुष्टि जनाउँदै संशोधनका लागि सहयोगी कक्षमा निवेदन दर्ता गराउने गरेका छन् ।

प्रशासन सेवातर्फका कर्मचारीले समायोजनको संशोधनको माग गदै निवेदन दर्ता गराइसकेका छन् भने अहिले स्वास्थ्य सेवातर्फका कर्मचारीले संशोधनको माग गर्दै निवदेन दर्ता गराइरहेका छन् ।

समायोजनप्रति असन्तुष्टि जनाउँदै सबैभन्दा बढी स्वास्थ्य सेवातर्फका कर्मचारीले निवेदन दर्ता गराइरहेका छन् ।

स्वास्थ्यसेवा तर्फका धेरै कर्मचारी स्थानीय तहमा समायोजन भएकाले उनीहरुले सङ्घ वा प्रदेशमा समायोजनका लागि निवेदन दर्ता गराएका छन् । प्रशासन तर्फका करिब १० हजार कर्मचारीले समायोजन संशोधनका लागि निवेदन दर्ता गराएको गुनासो व्यवस्थापन समितिका संयोजक रुपनारायण भट्टराईले जानकारी दिए ।

प्रशासन तर्फका कर्मचारीको गुनासो दिइने समय सकिएपछि मन्त्रालयमा अहिले स्वास्थ्यतर्फका कर्मचारीले समायोजन संशोधनको माग गर्दै निवेदन दिइरहेका छन् ।

मन्त्रालयका जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले अहिलेसम्म करीब १० हजार कर्मचारीले संशोधनका लागि निवेदन दर्ता गराएको जानकारी दिए ।

उनले अझै तीन दिन गुनासो गर्ने समय भएकाले गुनासो गर्नेको सङ्ख्या बढ्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्