सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता, १ सय ६९ स्थानमा सशस्त्रको युनिट राख्न माग

काठमाडौं, बैशाख २ । सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था गरिएको हो ।

बलका प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका अनुसार नेपाल सरकारको जेष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्त रुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिए ।

यसअघि बलका वहालवाला कर्मचारी र उनीहरुका सहोदर छोराछोरीलाई मात्र यो सुविधा दिइँदै आएको थियो ।

खनालका अनुसार यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो ।

यसैबिच सशस्त्र प्रहरी बल ९एपिएफ० को युनिट थप १ सय ६९ स्थानमा राख्न माग भएको छ। विभिन्न आयोजना, कार्यालय तथा स्थानीयहरुले सशस्त्र प्रहरी बलको आवश्यकता रहेको भन्दै सशस्त्र प्रहरीको युनिट राख्न माग गरेका हुन्।

विभिन्न राष्ट्रिय गौरवका आयोजना तथा सार्वजनिक आयोजनाहरु तथा हाइड्रोपावरमा विशेषगरी सशस्त्रको युनिट राख्न माग भएको आइजिपी शैलेन्द्र खनालले बताए।

६० जिल्लामा स्थायी युनिट छन् भने १७ जिल्लामा अस्थायी युनिटहरु छन्।

बिओपीको संख्या २ सय ६५ पुर्‍याइने

बोर्डर आउट पोस्ट अर्थात बिओपीको संख्या पनि थप गरी २ सय ६५ पुर्‍याइने आइजिपी खनालले बताए। सीमा नाकाबाट हुने तस्करी, सीमाको सुरक्षा, सीमामा हुने अपराधका घटना रोक्ने काम सशस्त्र प्रहरी बलको बिओपीले गर्दै आएको छ।

हाल १ सय ६ स्थानमा सशस्त्रका बिओपी छन्। थप १ सय ५९ स्थानमा बिओपी थप गरी २ सय ६५ पुर्‍याइने आइजिपी खनालले बताए।

बिओपीको स्थापना र कमाण्डरको परिचालन पनि सहज बनाइएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्