आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरुः १० लाखलाई भर्ना गरिने

काठमाडौं , बैशाख २ ।आजदेखि मुलुकभर एक साथ विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याउँ’ भन्ने नाराका साथ सरकारले भर्ना अभियान सुरु गरेको हो ।

विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

वैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुवैतर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा विद्यालय जाने उमेर समूहका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्यांक छ ।

अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको मन्त्रालयले जनाएको छ ।

यसका लागि प्रदेश २ सरकारले विशेष किसिमको अभियान नै चलाउने भएको छ ।

हरेक स्थानीय तहमा जनप्रतिनिधिले विद्यालय बाहिर रहेका बालबालिकालाई खोजी भर्ना गराउने प्रदेश २ सरकारको तयारी छ ।

गत वर्षको तथ्यांकले प्रदेश २ मा प्राथमिक तहका ४ दशमलव २ प्रतिशत विद्यार्थी विद्यालय बाहिर देखाएको थियो ।

सो उमेर समूहका सबै बालबालिका भर्ना गराउने स्थानीय तहलाई पुरस्कृत गर्ने समेत प्रदेश २ सरकारले उद्घोष गरिसकेको छ ।

अझै पनि निम्न माध्यमिक तहमा ३७ प्रतिशत र माध्यमिक तहमा ४३ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकले देखाएको थियो । भर्ना अभियानको सम्पूर्ण व्यवस्थापन स्थानीय तहले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्