स्वास्थ्य शिविरबाट पन्ध्र सयभन्दा बढी लाभान्वित

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् ।

हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा दरवाङस्थित लायन्स र लियो क्लबको आयोजनामा संयुक्तरुपमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविर सञ्चालनका लागि बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल मलेसियामा व्यवसाय गर्नुहुने दीपक बोगटीले दिवंगत बुबा ओमबहादुर र भाइ लोकेश बोगटीको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको थियो ।

आँखासम्बन्धी ७०२ र अन्य स्वास्थ्य समस्या भएका ८५७ जनाले सेवा लिएका लायन्स क्लब अफ दरवाङ म्याग्दीका अध्यक्ष याममती रोकाले जानकारी दिए । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई निःशुल्क र सहजरुपमा गाउँमै शल्यक्रियासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको अध्यक्ष रोकाले बताए ।

छयालीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । एक जनाको सामान्य शल्यक्रिया र एक जनालाई शल्यक्रियाका लागि पोखरा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्