हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडों । हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै र मध्य क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । हिमपात भएपछि देशभरी नै चिसो बढ्ने, तर पानी पर्ने सम्भावना भने नभएको उनले बताए ।

उनका अनुसार पश्चिमी वायुको प्रभावकै कारण अहिले तराई भेगमा बाक्लो कुहिरो लागेको छ । यो दिउँसोपछि बिस्तारै हट्नेछ । बिहान ३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम दिउँसो १९ देखि २१ डिग्रीसम्म पुग्ने अनुमान छ ।

बाक्लो हुस्सु लागेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हुस्सु लागेपनि शीतलहर भने सुरु नभएको मौसमविद्ले बताएका छन् । लगातार २ दिनसम्म बाक्लो हुस्सु लागेपछि मात्रै मौसमविद्ले शीतलहर भएको घोषणा गर्ने गर्छन् ।

तर तराईमा केही दिनयता बाक्लो हुस्सु लागेपनि केही समय हट्दै लागेकाले त्यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद् राजु प्रधानाङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्