सरकारी डाक्टरको आन्दोलन एक दुई दिनमा टुंगिन्छ : मन्त्री बास्कोटा

काठमाडौं, चैत २८ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले जायज माग पूरा गर्ने भन्दै एक दुई दिनमा समस्या समाधान हुने दावी गरे ।

सरकारले आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन आग्रह गरेको छ ।

‘उहाँहरुलाई हामी फेरि पनि अनुरोध गर्दछौं, काममा फर्किनुस् । जायज समस्या समाधान गर्न सरकार तयार छ’,बास्कोटाले भने, ‘उहाँहरु सहमतिको निकट हुनुहुन्छ । यो विषय एक दुई दिन चल्छ त्यसपछि टुङ्गिन्छ ।’

खटाएको ठाउँमा गएर सेवा गर्न आन्दोलनरत चिकित्सकहरुलाई मन्त्री बास्कोटाले सुझाव दिए ।
समायोजनका क्रममा केही नमिलेको भए त्यसलाई सच्याउने सरकारको दायित्व भएको उनले बताए । ‘तर, यसलाई अर्को अर्थमा लान खोज्नुहन्छ भने सरकारले आफ्नै बाटो समात्छ’ मन्त्री बास्कोटाले चेतावनी दिए ।

उनले अगाडि भने ‘औषधी उपचार जस्तो क्षेत्रमा हड्ताल गरेर डाक्टरको मर्यादा कायम रहन्छ कि रहँदैन रु ख्याल गर्नुपर्छ ।’
ठूलो संख्यामा समायोजन हुँदा केही प्रावधिक रुपमा समस्या भएको, वित्ति विकासमा वा ब्यबहारिक रुपमा कठिनाई परेको भए समाधान गर्न सरकार तयार रहेको पनि उनले बताए ।

कर्मचारी समायोजनका क्रममा केन्द्र सरकार मातहत मात्र राखिनुपर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । यसरी सेवा ठप्प हुदा बिरामीको बिचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस्