वीर अस्पतालमा बिरामीहरुलाई सास्ती, चिकित्सकहरुप्रति आक्रोश

काठमाडौं, चैत २८ । चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर वीर अस्पतालमा बिरामीहरुलाई सास्ती भएको छ ।

अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ । विहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाहरुले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएको गुनासो गरेका छन् ।

बुधबारबाट वीर अस्पताल परिसरमा पालभित्र सञ्चालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धाहरु मारमा परेका हुन् । उनीहरुले बृद्धवृद्धाहरुको समेत चेकजाँच गर्ने अवस्था नभएको भन्दै चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।

त्यसैगरी थाइराईडको चेकजाँच गराउन आएकाहरुले पनि पालमा चेकजाँचका लागि घण्टौं कुर्नु परेको गुनासो गरेका छन् । भोलीभोली भन्दाभन्दै अस्पतालका चिकित्सकहरुले चेकजाँच नै अवरुद्ध पारेपछि विरामीहरुको बिचल्ली भएको छ ।

यता, कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै ओपीडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले भने अस्थायी पालको व्यवस्था गरेर भएपनि अत्यावश्यकीय सेवा विरामीहरुलाई दिने काम भइरहेको दावी गरेका थिए ।

अस्पतालकी आवासीय चिकित्सक सोनी श्रेष्ठले आफूहरुलाई कर्मचारी समायोजनको नाममा सरकारले पीडा दिएकाले त्यसको विरोधमा अस्पतालका ओपीडी सेवा अवरुद्ध पारेर आन्दोलन गर्नु परेको पनि बताए ।
सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका दुरदराजबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्