‘नेपाल भ्रमण वर्ष, २०२०’ सफल बनाउन सक्दो सहयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सोचे भन्दा राम्रो तरिकाले सफल बनाउन सक्दो सहयोगका लागि सम्बन्धित सबै निकायलाई आग्रह गर्नु भएको छ ।

बुधबार सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित ‘नेपाल भ्रमण वर्ष, २०२०’ मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले यो कुरा बताउनुभएको हो ।

पर्यटन क्षेत्रबाट देशको आय दोब्बर बनाउने गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको हो । त्यसैगरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनु पर्नेमा पनि सबैलाई सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ ।
यसैबिच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी लिनु भएका प्रधानमन्त्री ओलीले ुनेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि प्रदेश र स्थानीय तहको गन्तव्यहरुको पनि पहिचान गरी सो भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएकोले जानकारी दिनुभयो ।

बैठकमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको पहिचान गरी त्यसलाई विभिन्न १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने प्रतिबद्धता जनाएको थियो । कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउने तथा नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार–प्रसार गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको बारे प्रधानमन्त्रीलाई समेत जानकारी गराइएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्