उद्योगपति दिवाकर गोल्छाको निधन

काठमाडौं, २७ चैत्र । नेपालका अग्रणी उद्योगी दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ ।

उनी केही समयदेखि मृर्गौलाका रोगी थिए । भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो ।

विराटनगरका उद्योगपति रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन नेपालकै अग्रणी उद्योगी समूह हो । रामलालका दुई छोरा हुलासचन्द्र र हंसराज गोल्छा थिए । दिवाकर हंसराजका छोरा हुन् । गोल्छा परिवारका अन्य सदस्य लोकमान्य, सुरेन्द्र, राजेन्द्र, शेखर, सञ्जय, राजकुमारले अहिले पनि महत्वपूर्ण उद्योग व्यवसायको नेतृत्व गरिरहेका छन् । दिवाकरका भाइ महेन्द्र गोल्छाको केही वर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो ।

गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छा महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन् ।

उनी २०६४ सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बनेका थिए।

दिवाकरको पार्थिव शरिरलाई आजै काठमाडौं ल्याएर बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्